जाजरकोट, मङ्सिर २८ गते । एक दशक पहिले सम्म भेरी नगरपालिका १ रातवगाउँका ५३ वर्षीय तिले वादीलाई मादल बनाउने कामले भ्याइनभ्याई हुन्थ्योे । घरका सबै परिवारहरु त्यही काममा व्यस्त हुन्थ्यो । सबै मादल निर्माणको लागि आवश्यक पर्ने कच्चा पदार्थहरु संकलन र निर्माणमा व्यस्त रहन्थे । तर अहिले अवस्था फेरिएको छ, मादलको ठाँउमा आधुनिक डेकले ठाउँ आगटेपछि उहाँ फुर्सदिलो हुनु भएको छ । आधुनिक मादल बनाउने उपकरणको अभावमा मादल बनाउने पेशा संकटमा परेको उहाँको भनाइ छ ।
सोही ठाँउका ६२ वर्षीय मर्दविर वादी पनि आफूलाई त्यतिखेर घरमा मादल बनाउन आएका ग्राहकको कारण खाने समेत फुर्सद हँुदैन्थ्यो । सबै जना मादल बनाउन आउनेहरुले उहाँको घर भरिभराउ हुन्थ्यो । तर आजभोलि बढ्दो आधुनिकतासँगै भित्रिएका वाद्यवादनका साधनहरुले उनीहरुको मादल पेशा संकटमा परेको हो । जसले गर्दा यस जातिलाई अचेल दैनिक जीविका चलाउन मुस्किल परेको छ । चाडपर्वको बेला त्यस ठाउँमा पाँच सय बढी मादल विक्री हुने गरेका थिए तर अचेल दुई चार वटा पनि मादल विक्री नुहने वादी अगुवाहरुको भनाइ छ ।
यसरी आफूहरुको मादल बनाउने पेशा संकटमा परेपछि आजभोलि उनीहरु अन्य पेशा अंगाल्न वाध्य भएका छन् । कतिपय कमाईका लागि भारत जाने र अन्य व्यापार व्यवसाय गर्न थालेका छन् । मादल बनाउने पेशा संकटमा परेपछि १० वादी परिवार भारततर्फ पलायन भैसकेका छन् । वादी अगुवा एवं भेरी नगर कार्यपालिका सदस्य वीरवहादुर वादीे ‘वादी जातीको मादल बनाउने पेशालाई संरक्षण गरी संस्कृति जोगाउन सरकारले विशेष पहल गर्नुपर्ने बताउनुहुन्छ ।’ स्थानीय कला सँस्कतिको जगेर्ना गर्न तिनै तहका सरकारले पहल नगरेको उहाँको गुनासो रहेको छ ।








































