- ADVERTISEMENT -

वरिष्ठ नेता पौडेल समूहले सभापतिको साझा उम्मेदवार छान्न आन्तरिक छलफल

December 7, 2021
474
Shares

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार छान्न आन्तरिक छलफल थालेको छ ।

सोमबार साँझ पौडेल निवास बोहोराटारमा सभापतिका आकांक्षी नेताहरु पौडेल, प्रकाशमान सिंह र डा.शशांक कोइराला र डा.शेखर कोइरालाबीच छलफल भएको थियो ।

सभापतिका दाबेदार बसेर साझा उम्मेदवार तय गर्न नसकेपछि मंगलबार दिउँसो १ बजे प्रकाशमान सिंहको निवास चाक्सिबारीमा केन्द्रीय सदस्यसहितको बैठक बोलाइएको छ ।

पौडेल पक्षमा सभापतिका आकांक्षीहरु नै चारजना कायम रहेकाले साझा उम्मेदवार चयन फलामे चिउरा बनिरहेको छ । सोमबार छलफल भए पनि उनीहरुबीच सहमति भने हुन सकेन । तर, उनीहरुबीच देउवासँग १० सय मत इन्ट्याक्ट रहेको र कृष्णप्रसाद सिटौलासमेत हुँदा १८ सय मत पुग्ने भन्दै आफ्नो पक्षबाट एकभन्दा बढी उम्मेदवार चयन भए जता पनि ढल्कन सक्ने प्रतिनिधिहरु देउवातिरै लाग्ने र सभापतिमा उनी नै निर्वाचित हुने कुरामा सहमत देखिएका छन् ।

नेता पौडेलले देउवालाई निरन्तरता दिँदा कांग्रेसको शाखको निरन्तरता नहुने र पार्टी अन्यायको शिकार हुने बताएपछि नेताहरु साझा उम्मेदवार खोज्ने प्रयासमा सहमत भएका छन् ।

केन्द्रीय सदस्यहरुको रायअनुसार नेताहरु सहमत नभए पार्टीका निर्वाचित जिल्ला सभापतिहरु, पूर्वसभापतिहरु, क्षेत्रीय सभापति तथा महाधिवेशन प्रतिनिधिहरुको भेला गराएर भेलाकै सुझावमा उम्मेदवार छान्ने कसरत भइरहेको छ ।

संस्थापनमा सभापति शेरबहादुर देउवा नै १४औँ महाधिवेशनका लागि उम्मेदवार सुनिश्चित भए पनि बाँकी पदाधिकारीको विषय टुंगो लागेको छैन । त्यसैले संस्थापन प्रधानमन्त्री निवास बालुवाटार र आसपासका होटल तथा नेताका निवासमा टिमका विषयमा आ–आफ्नो लबीअनुसार छलफलमा जुटिरहेका छन् ।

संस्थापन पक्षका उपसभापति विमलेन्द्र निधिले भने सभापतिमा छुट्टै उम्मेदवारी दिने तयारी गरेकाले उनी पनि टिम निर्माणमा जुटिरहेकै छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -