ताप्लेजुङ, कात्तिक ९ गते । दशैँ चाड सकिएलगत्तै ताप्लेजुङका किसान अलैँची टिप्न व्यस्त बनेका छन् ।
अलैँची टिप्ने साथै थन्क्याउने मुख्य मौसम असोज र कात्तिक महिना भएकाले अहिले जिल्लाका किसान अलैँची टिप्नमा व्यस्त बनेका हुन् ।
जिल्लाको मुख्य नगदे बालीको रुपमा रहेको अलैँची तल्लो औल क्षेत्रमा भदौदेखि टिप्न (सङ्कलन गर्न) शुरु गरिन्छ भने लेकाली क्षेत्रमा मङ्सिरसम्म सङ्कलन गरिन्छ ।
सङ्कलन गर्ने बेलामा अर्थात अलैँची पाकिसकेपछि टिप्न ढिलो गरेमा चराचुरुङ्गी, मुसा लगायतका वन्यजन्तुले खाइदिने र नष्ट गरिदिने हुँदा दशैँ सकिएसँगै किसान जङ्गल पसेका छन् ।
अलैँची सङ्कलन गर्ने बेला भएपछि थोरै समय ढिलो भएमा पनि वन्यजन्तुले ठूलो नोक्सानी पु¥याइदिने हुँदा किसानहरु दशैँ चाड पूरै विदा गर्न नपाउँदैदेखि अलैँची सङ्कलन गर्ने चटारोमा छन् । दशैँ तिहारको बेला अर्थात यही समय अलैँची सङ्कलन गर्ने मुख्य मौसम भई दिएकाले चाडपर्व चाडपर्व नभनी अलैँची थन्क्याउनमा लाग्नुपरेको किसानको भनाइ छ ।
चरा, मुसा र काला नाम गरेको जनावर पाकेको अलैँची खानमा झुम्मिने हुँदा चाडपर्व मनाउँदै किसानहरु बगानमा पसेका फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका स्थानीय लक्ष्मण गुरुङले बताउनुभयो ।








































