काठमाडौं । नेकपा(एमाले)को १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलको संयोजकबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् ।

१० बुँदे कार्यन्वयनमा असन्तुष्टी जनाउँदै आएका उपाध्यक्ष रावलले शुक्रबार राजीनामा दिएका हुन् । अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि बढेको र कार्यदलमा बसिरहनु कुनै औचित्य नरहेकाले राजीनामा दिएको उनको भनाई छ ।

‘यो मेरो व्यक्तिगत कुरा होइन । अपानिबाट जारी भएको कुरा कार्यान्वयन गर्ने कि नगर्ने भन्ने कुरा हो । र, त्यसको कार्यान्वयन नगर्ने तर्क आएको हुनाले म त्यसप्रति सहमत हुन सकिनँ’, उनले भने ।

रावलले थपे, ‘एकातिर भीम रावललाई कार्यदल संयोजकको जिम्मा छ कार्यान्वयन गरे भइहाल्यो भन्ने, अर्कोतिर पार्टीमा भएका छलफल र केन्द्रीय कमिटीले गरेको निर्णय मान्ने नभएपछि त्यो कार्यदलमा बसिरहनुको कुनै औचित्य नभएको हुनाले त्यसबाट राजीनामा दिने बैठकमा घोषणा गरेको छु र लिखित रूपमा भोलि अध्यक्षलाई पठाउने जानकारी गराएको छु ।’

माधव नेपालको साथ छाडेर एमालेमै बसेका १० नेताले १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाउँदै आए पनि अध्यक्ष ओली पक्षले भने त्यस्तो नभएको र सहमति ९७ प्रतिशतभन्दा बढी कार्यान्वयन भइसकेको दाबी गर्दै आएका थिए ।

अध्यक्ष ओलीले बुधबार माधवकुमार नेपाल पार्टीमा रहन्छन् भनेर सहमति गरिएको, उनी नै नरहेपछि त्यसको कुनै औचित्य नभएको बताएका थिए। ‘अब १० बुँदे १० बुँदे, ट्याङट्याङ, ट्याङट्याङ गरिरहन आवश्यक छैन’, ओलीले बुधबार भनेका थिए, ‘माधव आउँछन् कि, पार्टी फुटाउँदैनन् कि भनेर १० बुँदे गरियाथ्यो, अब केको १० बुँदे ।’ त्यसबारे हालै बसेको स्थायी कमिटी बैठकमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र रावल तथा उपमहासचिव घनश्याम भुसालले ओलीको अभिव्यक्तिलाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्