काठमाडौं, बुधबार, ३ कात्तिक २०७८ । नेपाल विद्युत प्राधिकरणले भारतको बिहार राज्यलाई २८० मेगावाटसम्म बिजुली पठाउन थालेको छ । विद्युत साटासाट (इनर्जी एक्सचेन्ज) को अवधारणाअनुुसार प्राधिकरणले उक्त बिजुली बिहारलाई दिएको हो ।

प्राधिकरणका प्रवक्ता महेश भट्टराईका अनुसार हिउँदमा फिर्ता दिनेगरी बिहारले विजुली लिइरहेको छ । ‘अहिले बिहारलाई माग गरेअनुसार विजुली दिइरहेका छौं । दैनिक अधिकतम २ सय ८० मेगावाटसम्म माग भइरहेको छ,’ भट्टराईले भन्नुभयो। बिहारले माग गरेको विद्युत् कुलेखानी सञ्चालन गरेर भए पनि प्राधिकरणले आपूर्ति व्यवस्थापन गरिरहेको छ ।

प्रवक्ता भट्टराईका अनुसार बिहारले दैनिक माग र आपूर्तिको अवस्था हेरेर विद्युत सापटी माग्ने गरेको छ । ‘पछिल्लो दुई दिन बिहारले विद्युत मागेको छैन । त्यसअघि दैनिक रुपमा जति माग भएको थियो प्राधिकरणले अधिकतम २ सय ८० मेगावाटसम्म पठाएको छ,’ प्रवक्ता भट्टराईले भन्नुभयो । उहाँका अनुसार रामनगर, रक्सौल र कटौया प्रसारणलाइनबाट बिहारमा विद्युत् आपूर्ति भइरहेको छ । यस्तो विद्युत हिउँदयाममा नेपालले फिर्ता पाउनेछ ।

वर्षायाममा नेपालले पठाएको विद्युत र हिउँदमा बिहारले पठाएको विद्युत् परिमाणमा फरक देखिएमा त्यसको अतिरिक्त मूल्य तिर्ने गरी दुई पक्षबीच सम्झौता भएको छ । नेपाल र भारतबीच इनर्जी एक्सचेन्जका लागि सम्झौता भएपनि विद्युत् व्यापार (इनर्जी ट्रेड) का लागि भने दोहोरो सम्झौता हुन बाँकी छ । भारतले नेपाललाई विद्युत बेचेपनि नेपालले भने भारतलाई विद्युत बेच्न सकेको छैन । पछिल्लो समय भारतमा कोइला अभावमा थर्मल प्लान्टहरु बन्द हुँदा विद्युत कटौती बढ्दै गएको छ ।

नेपाल र भारबीच विद्युत व्यापारका लागि संरचना तयार रहेपनि कानूनी अड्चनहरु सुल्झन सकेका छैनन् । अहिले दुई देशबीच ३३ र १३२ केभी प्रसारणलाइनबाट ३ सय ७० मेगावाटसम्म विद्युत प्रवाह गर्नका लागि संरचना उपलब्ध छ । ४ सय ५६ मेगावाट उत्पादन क्षमताको माथिल्लो तामाकोशी सञ्चालनमा आएपछि वर्षायाममा नेपालको विद्युत् खेर जाने अवस्था रहेको छ । अहिले नेपालभित्रको पिक डिमाण्ड १ हजार ३ सय २० मेगावाट रहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्