कञ्चनपुर, असोज ३१ गते । भीमदत्त नगरपालिका– ८ भम्केनीधाम (तिलाचौर) क्षेत्रमा निर्माण भइरहेको अष्टधातुको नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माणका लागि धातुको अभाव हुन थालेको छ । धातुको अभाव हुन नदिन सिद्धनाथ बैजनाथ धार्मिक तपस्थली क्षेत्र विकास समितिले घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । समितिका अध्यक्ष कृष्णबहादुर सिंहले सुदूरपश्चिम क्षेत्रमा घरदैलो गरी धातु सङ्कलन गरिने बताउनुहुन्छ ।
“मूर्ति निर्माणका लागि १८ देखि २५ टनसम्म धातु आवश्यक पर्छ” उहाँ भन्नुहुन्छ, “समितिसँग दुई टन मात्रै धातु मौज्दात छ । त्यसले मात्र पुग्दैन ।” कैलाली, कञ्चनपुरलगायत जिल्लामा स्वयंसेवक परिचालन गरी धातु सङ्कलन गरिने र यसका लागि सबैको सहयोगको खाँचो रहेको अध्यक्ष सिंहको भनाइ छ ।
मूर्ति निर्माणका लागि ललितपुरको भ्याली कन्ट्रक्सन प्रालिले रु १० करोड ८२ लाखमा ठेक्का लिएको थियो । “निर्माण कम्पनीले मूर्ति निर्माणको कार्य गर्ने छ” अध्यक्ष सिंह भन्नुहुन्छ, “धातुको व्यवस्था भने समितिले नै गर्ने गरी सम्झौता गरिएको छ ।”
निर्माण कार्य अन्तर्गत हालसम्म प्राप्त धातुलाई कमलको आसन बनाएर ढलान गरी राखिएको र यसलाई ‘फिनिसिङ’ गर्ने कार्य भइरहेको छ । कमलको आसन निर्माणका लागि मात्रै तीन क्विन्टल भन्दा बढी धातु प्रयोग गरिएको छ । मूर्ति निर्माणका लागि चार वर्षसम्म लाग्ने बताइएको छ । समितिका अध्यक्ष सिंहका अनुसार मूर्ति निर्माणका हालसम्म लागि रु एक करोड ५० लाख भन्दाबढी खर्च भइसकेको छ ।








































