काठमाडौँ, शनिबार, २३ असोज २०७८ । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टीको मौलिक राजनीतिक दर्शन छाडेका कारण पार्टीमा टुटफुट आएको टिप्पणी गर्नुभएको छ ।
पार्टीको सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समन्वय समितिले आज गरेको कार्यक्रममा उहाँले प्रचण्डपथले विचार र सङ्गठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताउनुभयो । “प्रचण्डपथले वैचारिक केन्द्रीकरण गरेको थियो, आन्दोलनको भावनालाई केन्द्रीकरण गरेको थियो तर त्यसलाई छाड्दा सबथोक विकेन्द्रीकरणतर्फ गयो”, उहाँले भन्नुभयो, “अब प्रचण्डपथ र एक्काइसौँ शताब्दीको जनवादबाट शिक्षा लिएर समाजवादी आन्दोलनको नेतृत्व गर्ने पार्टी बनाउनुप¥यो ।”
उहाँले पार्टीलाई जननियन्त्रित र जननिर्देशित पार्टीका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । “जनताको आदेशमा चल्ने पार्टी चाहियो । नेताले गरेका गल्तीमा जनताले औँला ठड्याउन पाउनुप¥यो । हामीले गरेका गल्तीउपर जनताले भण्डाफोर गर्ने मौका पाउनुप¥यो । यस्तो खालको पार्टी बनाउनुप¥यो अब ।”
माओवादी केन्द्रको सङ्गठन विभाग प्रमुखसमेत रहनुभएका नेता शर्माले भन्नुभयो, “अबको पार्टी विधि र पद्धतिमा आधारित भएर चल्छ । सफ्टवेयरको जमाना छ । प्रविधिको प्रयोग गरेर नेता कार्यकर्ताको मूल्याङ्कन गरिन्छ ।”
सङ्गठन विभागको प्रस्तावमा स्थायी समितिले ‘देश बनाऔँ टोलबाट, पार्टी बनाऔँ सेलबाट’ भन्ने नारा पारित गरेको भन्दै उहाँले यसलाई देशभर अभियानका रूपमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीको पक्षमा ३० लाख सङ्गठित जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ त्यसका लागि सङ्गठनात्मक फर्मूलासमेत तयार गरेको जानकारी दिनुभयो ।








































