काठमाडौँ, शुक्रबार, २५ भाद्र २०७८ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेव यादवले पार्टीको वडा तहको अधिवेशनका क्रममा निक्कै बिबाद भएपछि असन्तुष्ट जनाउँदै पदबाट राजीनामा दिएका छन् ।
आगामी मंसिर दोस्रो साता राजधानीमा हुने १४ औं महाधिबेशनका क्रममा ५६ जिल्लामा वडा अधिबेशन जारी रहेको र २१ जिल्लाको क्रियाशील सदस्यता समेत नटुंगिएको बेला असन्तुष्टी जनाउँदै संयोजक यादवले राजीनामा दिएका हुन्।
खासगरी पछिल्लो समय डडेल्धुरामा देखिएको विवादका कारण उनी असन्तुष्ट भएका हुन्। डडेल्धुरामा क्रियाशील सदस्यताको बिषयमा बिबाद भएपछि जिल्ला कार्य समितिले यथाअबस्थामा निर्बाचन गराउन नसक्ने भन्दै बिबाद टुंग्याएपछिमात्र अधिबेशन प्रकृया अघि बढाउने निर्णय गरेको थियो। तर जिल्ला निर्वाचन अधिकृत लोकन्द्र बलमे भदौ २५ गते निर्बाचन गराउने कार्यसूचि प्रकाशित गरेको थियो।
कांग्रेस उपसभापति विलमेन्द्र निधिले बुधबार सभापति शेरबहादुर देउवालाई पत्र लेखी क्रियाशील सदस्यताको बिबाद नटुंगिएसम्म निर्वाचन प्रकृया अघि नबढाउन आग्रह गरेका थिए। त्यसको भोलिपल्ट बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले सभापति देउवासँग भेटेर निर्बाचन प्रकृया रोक्द दबाब दिएका थिए। तर निर्वाचन अधिकृत बमले भने भदौ २५ मै अधिबेशन गराउने भनी बिज्ञप्ति जारी गरेका छन्। पौडेल पक्षीय नेताहरुले भने सभापति देउवाले अधिबेशन रोक्न निर्देशन दिइसकेको बताएका थिए।
सभापतिकै गृहजिल्लामा बिबाद बढेपछि निर्वाचन समितिका संयोजक यादबले पदमा बसिरहन उचित नभएकोले राजीनामा दिएको कांग्रेस उच्च स्रोतले स्पेसखबरलाई बतायो।








































