काठमाडौं । आउँदो वर्ष देशमा स्थानीय तहको निर्वाचनमा हुनेछ । यसअघि २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो । जसअनुसार आउँदो वर्ष देशमा स्थानीय तहको निर्वाचन हुने भएको हो । तर, यसअघि प्रभावशाली राजनीतिक दलहरु आ–आफ्नो महाधिवेशनमा केन्द्रीत भएका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत यही १८ भदौबाट वडा अधिवेशन सुरू भइसकेको छ । कांग्रेसको १४औँ महाधिवेशन ९ देखि १३ गतेसम्म हुने भएको छ । कांग्रेसको महाधिवेशनमा होमिसक्दा अरु दलहरु पनि तयारी अवस्थामा छ ।
नेकपा एमालेले पनि आउँदो मंसिरमा १०औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । ‘आउँदा १० देखि १३ मंसिरमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरिसकेको छ’, एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । उनकाअनुसार सोही मितिमा महाधिवेशन गर्ने गरी तयारी थालिएको छ ।
कांग्रेसको महाधिवेशन सकिने दिन नै एमालेको १०औँ महाधिवेशन सुरू हुनेछ । कांग्रेस र एमालेभन्दा अगाडि कात्तिकमा राप्रपाको महाधिवेशन हुने छ । राप्रपाले २३ देखि ३० कात्तिकमा महाधिवेशन निर्णय गरेको छ । ‘२३ देखि ३० कात्तिकमा पार्टीको महाधिवेशन गर्न पार्टीले निर्णय गरिसकेको छ । यसको तयारी भइरहेको छ’, राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रले राष्ट्रिय भेलाको आयोजना गरेको छ । महाधिवेशनमा जानु अघि माओवादीले राष्ट्रय भेलाको आयोजना गरेको हो । उसले पुसमा राष्ट्रिय भेला गर्ने गरी तयारी गरिरहेको छ ।
‘१०देखि १३ पुसमा राष्ट्रिय भेला आयोजना गर्ने पार्टीले निर्देशन गरिसकेको छ’, माओवादी नेतृ पम्फा भुसालले भनिन्, ‘राष्ट्रिय भेला गर्ने गरी अहिले तयारी भइरहेको छ ।’








































