काठमाडौं, १८ भाद्र २०७८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजैका मितिदेखि शुभारम्भ हुँदैछ ।
आज एक शुभकामना सन्देश जारी गर्दै गृहमन्त्री बालकृष्ण खाणले यो अधिवेशनले आपसी सदभाव र सहकार्यबाट नेपाली राजनीतिलाई अगाडि बढाउने विश्वास लिएको बताउनु भएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले नेपालको वर्तमान अवस्थालाई समेत हृदयंगम गरी राष्ट्रियता, संघीयता, लोकतन्त्र, गणतन्त्रजस्ता विषयलाई मध्यनजर गर्दै अगाडि बढ्नुहुनेछ भन्ने विश्वासका साथ पार्टीको वडा तहको नेतृत्वमा आउन प्रयासरत सबै साथीहरूलाई शुभकामना व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेस कमजोर हुँदा नेपालको राष्ट्रियता कमजोर हुने कुरा यहाँहरूलाई विदितै छ । विगतको इतिहासले पनि हामीलाई यस विषयमा पाठ सिकाएको छ ।
आगामी दिनमा पार्टीभित्र आपसी एकता अझै सुदृढ हुने विश्वास मैले लिएको छु । कांग्रेसको नेतृत्व र राष्ट्रियता एक अर्काका परिपूरक जस्तै हुन् । यस विषयलाई सबैले हृदयंगम गर्नुहुने नै छ । वडा तहको नेतृत्वमा आउन प्रयासरत साथीहरूलाई अग्रिम शुभकामना ।








































