गोरखा, शुक्रबार, १८ भाद्र २०७८ । कांग्रेस गोरखाले ११ वटै स्थानीय तहका ९४ वटै वडामा अधिवेशन गर्ने भएको छ । नेपाली कांग्रेस गोरखाले आज दुई नगरपालिका सहित ११ वटै स्थानीय तहका ९४ वटै वडामा अधिवेशन गर्ने भएको हो ।
अधिवेशनको सबै तयारी पूरा भएको र क्रियाशिल सदस्य, निर्वाचन अधिकृत वडा/वडामा पुगिसकेको कांग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले बताउनु भयो । ‘शुक्रबार सबै वडाको समिति चयन हुनेछ’, न्यौपानेले भन्नुभयो, ‘सबै वडामा सर्वसम्मत समिति चयन गर्न अनुरोध गरेका छौँ । संगठनको हितलाई ध्यानमा राखेर सबैलाई सर्बसम्मत गर्न भनेका छौँ ।’ उहाँले भन्नुभयो ।
क्रियाशिल सदस्यको नामावलीसहित वडामा निर्वाचन अधिकारीहरु खटिइसकेका छन् ।
धार्चे र चुमनुब्रीमा बाटो बिग्रिएकाले आउजाउमा समस्या भएको सचिव न्यौपानेले बताउनु भयो। ‘अहिले उत्तरी गोरखाका वडामा पनि मतदान अधिकृत र क्रियाशील सदस्यहरु पुगिसकेका छन् ।’ उहाँले भन्नुभयो ।
अधिकांश वडामा समिति चयन सहज हुने भएपनि प्रतिनिधि छनौट भने सहज नभएको नेताहरुले अनुमान गरेको उहाँले बाताउनु भयो ।
क्रियाशील सदस्यमध्येबाट वडा समिति चयन गरिनेछ ।
१५० जनासम्म क्रियाशील सदस्य रहेको वडाबाट १५ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । त्यसमाथि एकसय सदस्य थपिएको खण्डमा थप १० जना प्रतिनिधि थपिनेछन् । भदौ २७ गते भने पालिका स्तरको अधिवेशन हुनेछ ।








































