काठमाडौँ, आइतबार, १३ भाद्र २०७८ । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा गरिएको आग्रह लत्याउँदै यावत कोशिसका बाबजुद उपसभापति विमलेन्द्र निधिले आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आफ्नो उम्मेदवारीको अपरिहार्यता दाबी गर्दै निधिले आगामी निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने निचोडमा पुगेको उनको भनाइ छ ।
शुक्रबार काठमाडौंको बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै निधिले आफू सभापति बनेर आगामी निर्वाचनमा तीन वटै तहमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त गराउने जिकिर गरे ।
सभापति देउवातर्फ संकेत गर्दै उनले आफू कसैलाई रिटायर्ड गराउनका लागि सभापतिको उम्मेदवार बन्न लागेको होइन भन्ने अभिव्यक्ति दिए । उनले भने, ‘नेपाली कांग्रेसलाई आगामी आमचुनावमा, देशको सबै तहको चुनावमा रुख छापलाई जिताउन हामी सफल हुनेछौँ भन्ने मलाई पूरा विश्वास छ ।’ कांग्रेसतर्फ आम मतदाताको ध्यान कसरी खिचिन्छ भन्ने ठोस योजना भने उनले खुलाएनन् ।
आफूहरु संघीयता र संविधानको सफल कार्यान्वयनको पक्षमा रहेको कुरा जनतालाई बुझाउनु आवश्यक रहेको भन्दै उनले १४औँ महाधिवेशनबाट कांग्रेसलाई ताजा बनाएर वैचारिक रुपमा प्रष्ट र वैचारिक रुपमा प्रतिवद्ध बनाएर लैजानुपर्ने बताए । युवा पुस्तालाई नेतृत्वमा ल्याउनका लागि आफूले सहजकर्ताको भूमिका निर्वाह गर्ने निधिको भनाइ थियो ।
यता नेपाली कांग्रेसको संस्थापन इतर समूहले महाधिवेशन प्रक्रियामा देखिएको व्यावहारिक कठिनाइ समाधानका लागि पहल गर्ने भएको छ । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आज बिहान बसेको संस्थापन इतर समूहको बैठकले तोकिएकै मितिमा अधिवेशन गर्ने वातावरण बनाउन पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चाकर्मीसँग कुरा गर्दै काँग्रेस नेता डा. मीनेन्द्र रिजालले महाधिवेशनका लागि देखिएको व्यावहारिक कठिनाइ समाधानका लागि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवासँग छलफल गर्ने बताए ।
सो बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री सिंह, नेताहरु डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा शेखर कोइराला, डा रिजाललगायत उपस्थित रहेका थिए ।








































