कास्की । माछापुच्छ्रे गाउँपालिकाका कृषक व्यावसायिक पशुपालनमा आकर्षित बनेका छन् । उत्पादित दूध बिक्रीका लागि बजारको राम्रो प्रबन्ध भएपछि विगतमा निर्वाहमुखी पशुपालन गर्दै आएका कृषक अहिले व्यावसायिक बन्दै आयआर्जनमा लागेका हुन् ।
सरकारले दूध उत्पादनका आधारमा अनुदान दिन सुरु गरेपछि साना तथा व्यवसाय उन्मुख कृषकले सहकारी संस्थाबाट दूध बिक्री गर्ने गरेका छन् । उत्पादनका आधारमा दिइने अनुदानले साना कृषक लाभान्वित छन् । ठूला कृषकले भने आफैँ बजारमा लगेर बिक्री गर्ने गर्दछन् । सहकारीले कृषकले उत्पादन गरेको दूध संकलन गरी बजारमा पु¥याउने गरेका छन् । गाउँपालिकाको पशुसेवा शाखाका अनुसार गत आर्थिक वर्षमा विभिन्न पाँच सहकारी संस्थाबाट १८ लाख ३६ हजार ६३ लिटर दूध बिक्री भएको छ । कृषकले उत्पादन गरेको दूध सहकारी संस्थाका माध्यमबाट बजारमा पुग्ने गरेको शाखा प्रमुख रामचन्द्र पौडेलले बताए ।
गाउँपालिकाका तीन वडामा रहेका पाँच दुग्ध सहकारीले खरीद गरी बजारको सुनिश्चितता गर्दै आएका छन् । गत वर्ष भेडाबारी दुग्ध उत्पादक सहकारी संस्थाबाट दुई लाख ११ हजार ८ सय ११ लिटर, हिमशिखर दूध उत्पादक सहकारी संस्थाबाट दुई लाख १६ हजार ५ सय ३९, घाचोक दुग्ध उत्पादक सहकारीबाट चार लाख २४ हजार ३ सय १७, पिपलबोट दुग्ध उत्पादक सहकारी संस्थाबाट दुई लाख ३९ हजार २ सय ९० र प्रतिभा सामाजिक उद्यमी महिला सहकारीबाट सात लाख ४४ हजार १ सय ६ लिटर दूध बिक्री भएको शाखा प्रमुख पौडेलले जानकारी दिए।
गाउँपालिकाबाट दैनिक १० हजार ६ सय लिटर हाराहारीमा दूध बिक्रीका लागि बजारमा जाने गरेको छ । गण्डकी प्रदेश सरकारले सहकारीबाट दूध बिक्रीका आधारमा कृषकलाई प्रतिलिटर दुई रुपैयाँ पचास पैसा अनुदान दिँदै आएको छ । यसैगरी गाउँपालिकाले पनि यसअघि प्रतिलिटर २५ पैसा अनुदान दिएकामा यस वर्षदेखि ५० पैसा अनुदान दिने भएको छ ।








































