काठमाडौं, मंगलबार, ८ भाद्र २०७८ । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले साउन २७ देखि ३१ गतेसम्म निष्काशनमा ल्याएको सेयर सोमबार सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टमा बाँडफाँड भएको हो ।
लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकाअनुसार गोलाप्रथाबाट १० कित्ताको दरले सेयर वितरण भएको छ । गोलाप्रथाबाट ३६ हजार ८५९ जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने तिनै आवेदकमध्ये भाग्यमानी तीनजनाले गोलाप्रथाबाट थप ११ कित्ता सेयर पाएका छन् । यस हिसाबले यस आईपीओमा २३ लाख १७ हजार ८८९ आवेदकको हात खाली भएको छ ।
धितोपत्र बिक्री प्रबन्धकका अनुसार आईपीओमा कुल २३ लाख ६१ हजार ८२७ आवेदकबाट दुई करोड ९६ लाख ५५ हजार ४६० कित्ता सेयर माग भएको थियो । तीमध्ये २३ लाख ५४ हजार ७८४ आवेदकबाट माग भएको दुई करोड ९५ लाख ७४ हजार ७५० कित्ता सदर भएको छ भने बाँकी सात हजार ४३ आवेदकबाट माग भएको ८० हजार ७१० कित्ता सेयर बदर भएको छ ।
कम्पनीले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये पाँच हजार ४६९ कित्ता कर्मचारीहरूका लागि र पाँच प्रतिशत अर्थात् १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ भने बाँकी तीन लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।








































