काठमाडौ, आइतबार, ६ भाद्र २०७८ । पछिल्लो २४ घन्टामा देशभर थप १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा थप १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ९ हजार ४४३ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर विधिबाट नमूना परीक्षण गर्दा १ हजार ७०२ जनामा संक्रमण पुष्टि भएको हो।
साथै देशका विभिन्न ठाउँमा गरी ३ हजार ७३ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट २१८ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ।









































