तनहुँ, १० साउन २०७८ । बन्दीपुर गाउँपालिका कार्यालयले दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रही दूध बिक्री गर्दै आएका किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान प्रदान गरेको छ ।
दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराउने उद्देश्यले गाउँपालिकाले किसानलाई प्रतिलिटर दूधमा रु एक अनुदान दिने व्यवस्था गरेको हो ।
गाउँपालिकाले वडा नं १ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानलाई शनिबार उत्पादनमा आधारित कार्यक्रमअनुरुप अनुदान रकम प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, वडाध्यक्ष भानुभक्त पोख्रेल, दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष मानबहादुर खातीको रोहवरमा किसानलाई अनुदान रकम वितरण गरिएको हो । उक्त सहकारीमा आबद्ध ६१ किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान दिँदा कूल रु एक लाख ६२ हजार वितरण गरिएको वडाध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त सहकारीले दैनिक करिब ७०० लिटर दूध उत्पादन गरी बिक्री गर्दै आएको छ । जति उत्पादन ग¥यो, त्यति फाइदा हुने भएपछि किसान उत्साहित भएर उत्पादन वृद्धिमा लाग्ने गरेको उहाँले बताउनुभयो ।
गाउँपालिकाको वडा नं ५ स्थित याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले दैनिक चार हजार लिटर दूध उत्पादन गर्दै आएको छ । उक्त सहकारीमा आबद्ध किसानलाई रु एकका दरले १०० किसानलाई अनुदान दिँदा रु नौ लाख ५२ हजार वितरण हुने गाउँपालिकाका पशु शाखाका प्रमुख मधुविलास न्यौपानेले जानकारी दिनुभयो ।








































