काठमाडौँ, शुक्रबार, १ साउन २०७८ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ले असर पारेको समग्र उद्योग व्यवसाय र अर्थतन्त्रको कमजोर अवस्थालाई माथि उठाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँगको भेटवार्तामा आज उहाँले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर र सुधारका विषयमा छलफल गर्दै कोरोनाले अर्थतन्त्रमा पारेको असरलाई लयमा फर्काउन प्रयासरत रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले निजी क्षेत्रलाई निर्धक्क काम गर्न अनुरोधसमेत गर्नुभयो ।
महासङ्घका अध्यक्ष शेखर गोल्छा नेतृत्वको प्रतिनिधिमण्डलले थिलोथिलो भएको मुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रलाई माथि उठाउन, तत्काल यो क्षेत्रलाई कोभिड खोपमा पहिलो प्राथमिकतामा राख्न, बजेटमा समेटिएका निजी क्षेत्रका लागि ल्याइएका कार्यक्रमको प्रभावकारी कार्यान्वयनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको थियो ।
अध्यक्ष गोल्छाले आफूहरुले दिएका सुझाव बजेटमा पनि समेटिएका, मौद्रिक नीतिका लागि पनि सुझाव दिएको र तीनको प्रभावकारी कार्यान्वयन चाहेको उल्लेख गर्दै त्यसमा सरकारबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो । महासङ्घको प्रतिनिधिमण्डलले आजै अर्थमन्त्री जनार्दन शर्मालाई पनि भेटेर आफ्ना माग र सुझावबारे ध्यानाकर्षण गराएको थियो ।








































