काठमाडौँ, २९ असार २०७८ । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन्।
मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई मंगलबार अपरान्ह ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।
शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ ।
यो सँगै देउवा पाँचौं पटक प्रधानमन्त्री भएका छन्। उनी पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए।
त्यसपछि उनी २०५८ साल र २०६१ सालमा प्रधानमन्त्री भएका थिए। उनी २०७४ सालमा चौथो पटक प्रधानमन्त्री भएका थिए।








































