काठमाडौँ, आइतबार, २० असार २०७८ । कृषिलाई यान्त्रीकरण र व्यवसायीकरण गर्न स्थानीय तहका सरकारहरूले विभिन्न पहल गरिरहेका छन् ।
परम्परागत कृषि प्रणाली अन्त्य गर्न र माटोको गुणस्तरलाई पनि बचाई दिगो रूपमा उत्पादकत्व बढाउन स्थानीय सरकारहरूका योजना कार्यान्वयनमा रहेका छन् ।
त्यस क्रममा धेरै स्थानीय तहहरूले अनुदानमा कृषि यन्त्र प्रदान गरिरहेका छन् भने कतिपयले जैविक मल कारखाना नै खोलेर किसानलाई प्रोत्साहित गरेका छन् । यस्तो कार्यमा महानगरपालिकादेखि गाउँपालिकासम्म रहेका छन् ।
नारायणगढ समाचारदाताका अनुसार भरतपुर महानगरपालिकाले अनुदानमा कृषि उपकरण वितरण गरेको छ । महानगरले अनुदानमा जोत्न ट्याक्टर र यान्त्रिक हलो (पावर ट्रिलर), धान रोप्न र बीउ प्रशोधन गर्ने मेसिन (कम्बाइन्ड हार्भेस्टर)जस्ता उपकरण जिल्लाका अगुवा किसान तथा कृषि सहकारीहरूलाई वितरण गरेको छ ।








































