धादिङ, २७ जेठ २०७८ । तिन महिनादेखि अनिकाल र भोकमरीमा परेका धादिङको बेनिघाटरोराङ गाउँपालिका-८ स्थित चेपाङ बस्तीमा आज राहत वितरण गरिएको छ । यति एयरलाइन्सका पाइलट क्याप्टेन रमेश श्रेष्ठको पहलमा सो गाउँका १२० परिवारलाई स्थलमै पुगेर चामल दाल, नुन र तेल वितरण गरिएको हो ।
सो गाउँमा खानेकुरा अभावपछि कोही जंगलमा गिट्ठा खोज्न जाने, कोही खोलातिर माछा मार्न जाने तथा कोही टाँकीको मुन्टा र सिस्नु टिपेर छाक टार्न बाध्य भएको समाचार यही जेठ २२ गते सम्प्रेषण भएको थियो ।
समाचार पढेर सहयोगीहरुबाट खाद्यान्न संकलन गरी वितरणका लागि ल्याइएको क्याप्टेन श्रेष्ठले बताए। गत वर्षको बन्दाबन्दीको समयमा पनि श्रेष्ठको पहलमा विभिन्न विमान चालक र समाजसेवीको सहयोगमा काठमाडौँमा विभिन्न स्थानका मजदुरलाईकरीब रु ३५ हजार बराबरको राहत वितरण भएको थियो ।









































