काठमाडौँ, बुधबार, २६ जेठ २०७८ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित मितिमा पार्टीको महाधिवेशन गर्न पूर्ण प्रतिवद्ध रहेको बताएका छन् । बुधबार पेस वक्तव्य जारी गर्दै देउवाले महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न नहुने बताएका हुन् ।

काँग्रेसले आगामी भदौँ ७-१० गतेका लागि १४ औं महाधिवेशनको मिति तोकेको छ । सोही कार्यतालिका अनुसार क्रियाशील सदस्यताबारे काम सम्पन्न नभएपछि काँग्रेस नेताहरुले महाधिवेशन हुने आशंका व्यक्त गर्न थालेका थिए ।

यसलाई प्रस्ट पार्दै देउवाले विज्ञप्तिमा लेखेका छन्, ‘२०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिवद्ध छु । पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु । महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको मैले सुनेको छु ।’








































