गोरखा, बुधबार, २६ जेठ २०७८ । को’रोना भाइरस महामारीले आम जनतालाई आक्रान्त पारिरहेको बेलामा गोरखाका विभिन्न पालिकामा एम्बुलेन्स वितरण गरिएको छ । संभव नेपालका अध्यक्ष प्रेम खत्रीले गोरखाको पाँच वटा स्थानीय तहलाई छ वटा एम्बुलेन्स सहयोग गरेको हो ।

आज बुधबार गोरखा सदरमुकाममा आयोजित एक कार्यक्रमकाबीच नेपाली कांग्रेस केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, संभव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्रीले संयुक्त रुपमा स्थानीय तहका प्रमुखहरुलाई एम्बुलेन्स हस्तान्तरण गर्नु भयो ।
गोरखा नगरपालिकाको लागि दुईवटा एम्बुलेन्स , शहीदलखन गाउँपालिका, गण्डकी, भीमसने थापा र धार्चे गाउँपालिकाको लागि एक÷एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

एम्बुलेन्स हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अथिति कांग्रेस केन्द्रिय सदस्य पाण्डेले ‘अहिले पनि दुर्गम गाउँमा एम्बुलेन्स नपाएर समयमै स्वास्थ्य संस्था आउन नपाएका बिरामी हुन सक्छन’ अबदेखि ‘सबैले अव छिटो र सहज उपचार पाउँछन ।’ एम्बुलेन्स दुरुपयोग नगर्न र सही सदुपयोगमा ध्यान दिन स्थानीय तहका प्रमुखहरुलाई उनले सुझाब दिनुभयो ।
‘कोरोना संक्रमणका बेला दुर्गम गाउँका जनताले सहजै उपचार सेवा पाउन् भन्ने उद्देश्यले एम्बुलेन्स सहयोग गरेको संभव नेपालका अध्यक्ष खत्रीले भन्नुभयो ।

एम्बुलेन्स सहित स्वास्थ्य सामग्रीको मूल्य एक करोड भन्दामाथि रहेको संभव नेपालले जनाएको छ ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, गोरखा नगरपालिका नगर प्रमुख राजराज पन्त, शहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापा, भिमसेन थापा गाउँपालिका अध्यक्ष ईश्वर पाण्डे,गण्डकी गाउँपालिका अध्यक्ष होम बहादुर राना, धार्चे गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङ लगायत अन्य अतिथि महानुभावको उपस्थिति रहेको थियो।









































