काठमाडौँ, शनिबार, २२ जेठ २०७८ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले क्रियाशील सदस्यतालाई चाँडो टुङ्ग्याएर १४ औँ महाधिवेशन गर्नुपर्ने बताउनुभएको छ ।
काँग्रेस काठमाडौँस्थित जिल्ला सम्पर्क समितिद्धारा आज यहाँ आयोजित ‘वर्तमान सङ्कटमा काँग्रेसको भूमिका’ विषयक भर्चुअल सम्वाद कार्यक्रममा उहाँले अब पार्टीका सबैतहले महाधिवेशनमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ भन्नुभयो ।
“आठ लाख हाराहारीमा क्रियाशिल सदस्यता पार्टी केन्द्रीय कार्यालयमा दर्ता भइसकेको छ, दर्ता हुन बाँकी रहेका क्रियाशिल सदस्यता पनि चाँडो टुङ्ग्याएर समयमा नै महाधिवेशन गर्नुपर्छ,” उहाँले भन्नुभयो । पूर्व उपप्रधानमन्त्री निधिले काँग्रेसले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी गरेको बताउनुभयो ।
काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कोरोनाको नियन्त्रणमा सरकारले पूर्वतयारी गर्न नसक्दा भयावह अवस्था आएको आरोप लगाउनुभयो ।
अर्का केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद वडुले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकार जिम्मेवार बन्न नसकेको बताउनुभयो ।








































