काठमाडौँ, २० जेठ २०७८ । नेपाल हस्तकला महासङ्घले नेपालको हस्तकला क्षेत्रको विकास र विस्तारका लागि सरकारले लिएको नीति सकारात्मक रहेको बताएको छ ।
महासङ्घले आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा गर्दै को’भिड–१९ का कारण थलिएको नेपाली हस्तकला उद्योगको विकास र विस्तारमा सरकारले खेलेको भूमिका सकारात्मक भएको बताएको हो ।
महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले को’भिड–१९ बाट थलिएको हस्तकला उद्योग व्यवसायको पुनरुत्थानको निमित्त निकासी अभिवृद्धिको पञ्चवर्षीय लक्ष्यसहित महासङ्घले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको अवस्थामा सोहीअनुसार बजेट विनियोजन हुनु सराहनीय र स्वागतयोग्य भएको उल्लेख गरे ।
“हस्तकला उद्योग व्यवसाय प्रवर्द्धनका निमित्त सीपमूलक तालिमको व्यवस्था, उद्योग व्यवसाय सञ्चालनका लागि स्टार्टअफ ऋणको व्यवस्था, कर सहुलियत व्यवस्था, पुनरकर्जा कोषको निरन्तरता, महिला तथा युवालाई उद्यमशीलताका लागि बजेटलगायतका व्यवस्था सकारात्मक छन्”, उनले भने ।








































