काठमाडौं, ३१ बैशाख २०७८ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार २ः३० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ खानु भएपछि पहिलो चरणको मन्त्रीमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ ।
मन्त्री को को बन्ने विषयमा टुङ्गो लागि नसके पनि पहिलो चरणमा पुरानै केही मन्त्रीहरु पुनः दोहोरिने सम्भावना रहेको एमाले स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओलीले नेता माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा) लाई समेट समेटेर मन्त्रीमण्डल विस्तार गर्ने तयारी गर्नु भएपनि माधव पक्षबाट नाम आइपुगेको छैन ।
त्यसबारेमा टुङ्गो लगाउन सो पक्षका नेताहरुको बैठक चलिरहेको छ । अपरान्ह दुई बजेअघि त्यसबारेमा टुङ्गो लागिसक्ने नेकपा (एमाले) कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।








































