काठमाडौँ, ३० बैशाख २०७८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने घोषणा गरेसँगै ओली नै प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएको हो ।
बहुमत जुटाउन हम्मेहम्मे देखिए विपक्षी दलहरुले दावी नगर्ने बताएका हुन् । एमालेका असन्तुष्ट पक्ष माधवकुमार नेपाल पक्षको राजीनामा वा समग्र जनता समाजवादी पार्टी एकढिक्का नभएपछि कांग्रेस र माओवादीले पछि हटेका हुन् ।
हाल कांग्रेससँग ६१ र माओवादी केन्द्रसँग ४८ सांसद छन् । जसपाको उपेन्द्र यादव डा. बाबुराम भट्टराई पक्षमा १५ वा १६ जना सांसद छन् । उक्त आंकलनअनुसार विपक्षी गठबन्धनसँग १२५ को हाराहारीमा मात्रै सांसद हुन्छन् ।
बहुमतका लागि १ सय ३६ आवश्यकता पर्छ । एमालेको असन्तुष्ट नेपाल पक्षका प्रत्यक्षतर्फका १९ जनाले राजीनामा दिँदा २७१ सदस्यीय प्रतिनिधिसभामा सांसद संख्या २ सय ५२ मा झर्ने र त्यसपछि बहुमतका लागि आवश्यक १ सय २७ सांसदमा विपक्षीले बहुमत दाबी गर्ने अनुमान गरिएको थियो ।








































