काठमाडौं, बुधबार, ८ बैशाख आज चैते दशैं अन्तर्गत राम नवमी पर्व मनाइदै छ । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज हिन्दु नेपालीहरुले श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाउँदैछन ।
असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ। यस वर्ष पनि कोरोना सङ्क्रमणको जोखिम बढेकाले स्वास्थ्य मापदण्ड कडाइकासाथ पालना गर्दै पूजा, आराधना एवं दर्शन गर्दैछन ।
विशेषगरी आजको दिन जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतबाट आएका भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । देशभरका राम सीता मन्दिरहरुमा पनि पुजा अर्चना हुन्छ ।
त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा भगवान विष्णुले रामको अवतार लिएर जन्म भएको थियो। त्यही धार्मिक स्मृतिका आधारमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ।
आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ।
अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गर्नुभएको थियो।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले ‘लोक रञ्जनात् राजा’ भन्ने शास्त्रीय मान्यतालाई श्रीरामले पूरा गरेको बताउँछन्। त्यसैले आदर्श राजाका रुपमा भगवान् श्रीरामको स्मरण गरिन्छ।
पितृ, मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रुपमा रामले अयोध्यामा राज्य गरेकाले उनको शासनकाललाई अहिले पनि रामराज्यका रुपमा स्मरण गरिन्छ।
सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रुपमा मनुष्यलोकमा जन्म लिएका हुन्। रामकै जस्तो गुण हामीमा पनि प्राप्त होस् भन्ने कामनाले श्रीरामनवमी पर्व मनाउने गरिएको उनले बताए।









































