काठमाडौँ, ६ बैशाख २०७८ । सरकारले सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।
आज सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण गर्न सार्र्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले पारित गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बैठकको आदेशअनुसार वैशाख महिनाभर पार्टी प्यालेसहरु बन्द हुनेछन् ।
त्यस्तै, विवाह, ब्रतबन्ध, मलामीजस्ता धार्मिक–सांस्कृतिक कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।
यसअघि कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन बन्द गर्न आदेश जारी गरिएको थियो ।









































