बुटवल, बैशाख ६ गते । लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।
सोमबार दिउँसो १ बजेर १५ मिनेटमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका तर्फबाट अविश्वास प्रस्ताव दर्ता भएको प्रदेश सभा सचिवालयले पुष्टी गरेको छ ।
अविश्वास प्रस्ताव दर्ता गराएका तीन दलले मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीको नाम प्रस्ताव गरेका छन ।
केसी अहिलेपनि लुम्विनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री हुनुहुन्छ ।
एक साता अघिदेखि नै लुम्विनी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन हस्ताक्षर संकलन सुरु भएको थियो । लुम्विनी प्रदेशमा सत्ता साझेदारीका लागि जसपा निर्णायक शक्तिका रुपमा देखिएको छ ।
उसका ६ सांसद छन । जसपा विभाजित भए मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पास नहुन सक्छ ।
यसैवीच जसपामा दुई गुट देखिएकोले लुम्विनी प्रदेशको सत्ता समीकरण कसरी अघि बढ्छ भन्ने अझै टुंगो छैन । ८७ सांसद रहेको प्रदेश सभामा दुई सांसदको पद रिक्त हुँदा सांसद संख्या ८५ रहेको छ ।
नेकपा एमालेका ४१ सांसद छन भने नेपाली कांग्रेस १९, नेकपा माओवादी १७, जसपा ६ र राष्ट्रिय जनमोर्चाको एक सांसद छन ।
अविश्वास प्रस्ताव गरेसंगै सोमवार दिउँसो दुई बजे कांग्रेस र माओवादीका तर्फबाट पत्रकार सम्मेलन आयोजना गरिदैछ ।








































