काठमाडौं, बिहिबार, ५ चैत्र २०७७ । नेकपा एमालेको माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाले समसामयिक विषयमा १७ बुँदे विशेष प्रस्ताव पारित गरेको छ ।
दुई दिनसम्म ललितपुरमा भएको भेलाको समापनपछि आयोजित पत्रकार सम्मेलनमा पारित प्रस्तावहरू पढेर सुनाइएको थियो ।
भेलाले सर्वोच्च अदालतले फागुन २८ गते अध्यक्ष केपी ओलीले एकतर्फी गरेका निर्णयको भत्सर्ना गरेको छ । त्यसैगरी प्रस्तावमा सवै नेता कार्यकर्ताहरूलाई एकताको पक्षमा उभिन आग्रह गरेको छ ।
प्रस्तावमा फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समितिको विशेष बैठक भनी गरेको विभिन्न निर्णयलाई अस्वीकार गर्ने उल्लेख छ ।
पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले नवौं राष्ट्रिय महाधिवेशनले पास गरेको कार्यक्रम जनताको बहुदलीय जनवादको मर्म र भावनालाई रक्षा गर्दै समाजवादको दिशामा अघि बढ्ने कुरालाई पुनर्पुष्टि गरेपनि अध्यक्ष ओलीले त्यसलाई पक्रन नसकेको बताउनु भएको थियो ।
त्यस्तै राष्ट्रिय सम्मेलनले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको स्वागत गरेको छ भने एमाले र माओवादी पार्टी ब्युँताउने फैसलाप्रति असहमति प्रकट गरेको छ ।
भेलाले अदालत र निर्वाचन आयोगलाई समेत संविधान र कानुनअनुसार चल्न आग्रह गरेको छ ।








































