विराटनगर, बिहिबार, ५ चैत्र २०७७ । विराटनगर उपमहानगरपालिकाका संस्थापक मेयर एवं कांग्रेस नेता अशोक कोइरालाको निधन भएको छ । कोइराला परिवारका हस्तीमध्येका एक मानिने उनको ७७ वर्षको उमेरमा बिहीबार बिहान १ बजेतिर विराटनगरको न्युरो अस्पतालमा निधन भएको कांग्रेस मोरङ क्षेत्र नम्बर ४ का सचिव सन्तनु रेग्मीले जानकारी दिए ।

उनका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि कोइरालालाई उपचारका लागि बुधबार बिहान २ बजेतिर अस्पताल लगिएको थियो। तर अस्पताल भर्ना गरिएको २४ घण्टा पुग्न नपाउँदै उनको मृत्यु भएको हो ।

रेग्मीले उपचारमा संलग्न चिकित्सकले बिहान १ बजेतिर कोइरालालाई मृत घोषित गरेको जानकारी दिए । ‘स्वास्थ्यमा समस्या देखिनसाथ उपचारका लागि अस्पताल पुर्‍याइएको थियो,’ उनले भने, ‘चिकित्सकले धेरै प्रयास गर्दा पनि बचाउन सम्भव नहुँदा कांग्रेसको एउटा धरोहर ढल्यो।’ सचिव रेग्मीका अनुसार यसअघिसम्म स्वास्थ्यमा त्यस्तो कुनै समस्या नदेखिएका कोइरालामा पछिल्लो समय निमोनियाको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

नेपाली कांग्रेस मोरङका पूर्वसभापतिसमेत रहेका कोइराला संविधानसभा सदस्य एवं राष्ट्रिसभाका पूर्वउपाध्यक्ष पनि हुन् । नेपाली कांग्रेस महासमिति सदस्य रहेका कोइराला २०४८ सालको स्थानीय निर्वाचनबाट विराटनगर उपमहानगरको पहिलो मेयरमा विजयी बनेको रेग्मीले बताए। विराटनगर अहिले महानगरपालिका घोषित भइसकेको छ ।

अशोक नेपाली राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको कोइराला परिवारका सन्तान एवं नेपालका पूर्वप्रधानमन्त्री स्वः सुशील कोइरालाका सहोदर भाइ हुन् । सचिव रेग्मीका अनुसार बुबा बोधप्रसाद कोइराला र आमा कुमोदिनी कोइरालाको पाँचौ सन्तानका रुपमा विराटनगरकै कोइराला निवासमा उनको जन्म भएको थियो। सुशील भने परिवारको साइँलो छोरा रहेको उनको भनाइ छ ।

२०४४ सालमा अशोक कोइराला नेपाली कांग्रेसको जिल्ला सभापति बनेको जानकारी रेग्मीले दिए । एक समय राजनीतिमा निक्कै सक्रिय रहेका कोइराला पछिल्लो समय निस्क्रियजस्तै थिए । तर पनि नेतृत्वदायी र अभिभावकीय भूमिकामा रहेर पार्टीका सभा, सम्मेलन तथा विभिन्न कार्यक्रमहरुमा उनको सहभागिता रहने गरेको कांग्रेसका क्षेत्रीय सचिव रेग्मीले बताए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्