लहान, आइतबार, १ चैत्र २०७७ । सिरहा बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) समूहले लिएको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै ८ जना घाइते भएको घटनाको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा समूहका अध्यक्ष जयकृष्ण गोइतले लिएका हुन् ।
आफूहरुले भ्रष्टचारको विरोधमा बम विस्फोट गराएको दाबी गर्दै भ्रष्टचार जारी रहे अझै उच्च स्तरको कारबाही गर्ने विज्ञप्तीमार्फत चेतावनी उक्त समूहले दिएको छ । जनतान्त्रिक मुक्ति मोर्चा ‘गोइत’ समूहका उपाध्यक्षले आजै घटना अघि नै आत्मासमर्पण गरेका छन् ।
आज अपराह्न बम विस्फोट हुँदा एक कर्मचारीसहित आठ जना घाइते भएका छन्। घाइतेहरुमा मालपोत कार्यालयका नायबसुब्बा ३८ वर्षीय शिवकुमार यादव, गोलबजार नगरपालिका–६ की ३५ वर्षीया लक्ष्मी राणा, लहान नगरपालिका–१६ का ५२ वर्षीय लालबहादुर बिक, ३५ वर्षीया बेचनी मगर, गोलबजार नगरपालिका–४ का ३८ वर्षीय फुलकुमार ठाकुर, भगवानपुर गाउँपालिका–३ का ५४ वर्षीय बद्रीनारायण यादव र ७८ वर्षीय लेखापढी व्यवसायी भोलाबहादुर पाछे मगर छन् ।
घाइतेमध्ये दुई जनाको गम्भीरावस्था छ । गम्भीर घाइते भएका दिनेशकुमार भण्डारीलाई नेपाली सेनाले हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ ।









































