काठमाण्डौँ, सोमबार, २४ फागुन २०७७ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा तनहुँमा आयोजित दौड प्रतियोगितामा महिलाहरू श्रीमान् बोकेर दौडिएका छन् ।
तनहुँको देवघाट गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा १६ जोडीले प्रतिस्पर्धा गरेका थिए। उनीहरू आ–आफ्ना श्रीमानलाई बोकेर दौडिएका थिए ।
प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी पहिलो भएका छन् । त्यस्तै, गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा सीता थापा र होमबहादुर थापाको जोडी तेस्रो भएको छ ।
उक्त दौड एक सय मिटरको भएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए ।
तनहुँ जिल्लामा यसअघि केही वर्ष पहिले क्षेत्रीय होटल सङ्घ तनहुँले दमौलीमा श्रीमान्ले श्रीमती बोक्ने प्रतियोगिता आयोजना गरेको थियो ।









































