काठमाडौँ, आइतबार, २३ फागुन २०७७ । नेकपा प्रचण्ड–माधव समूहले संसदीय दलको नेता परिर्वतन भएको जानकारी संसद सचिवालयलाई दिएको छ ।
प्रचण्ड–नेपाल समूहका सांसदहरू संघीय संसद्का महासचिव डा. भरत गौतमको कार्यकक्षमा पुगेर संसदीय दलको नेता परिर्वतन भएको जानकारी गराएका हुन् ।
प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाल तथा सांसदहरू भीम रावल, राम कार्की, रामकुमारी झाँक्रीलगायत गौतमको कार्यकक्षमा पुगेर पार्टी संसदीय दलको शुक्रवार बसेको बैठकका निर्णयबारे जानकारी गराएका हुन् ।
शुक्रबार ११५ सांसदको उपस्थितिमा बैठक बसेर पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको प्रचण्ड–नेपाल समूहको दावी छ । दलका जेष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको शुक्रवारको बैठकले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको थियो ।








































