काठमाडौँ, सोमबार, १७ फागुन २०७७ । सरकारले संसद विघटन गरेसँगै दुई भागमा अनौपचारिक रुपमा विभाजित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसदहरु संसद बैठकमा एउटै बेन्चमा बस्ने भएका छन् ।
सर्वोच्च अदालतले संसद पुनस्थापना गर्ने फैसला सुनाएसँगै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते संसद बैठक आह्वान गर्दैछिन् । उक्त बैठकमा यसअघि सामान्य लाग्ने दृश्य अब नौलो रुपमा देखिन लागेको हो । उनीहरु अब एकै बेन्चमा बस्न लागेका हुन् ।
पुनस्थापनापछि पनि ओली र प्रचण्ड नेपाल पक्षमा उभिएका सांसदहरु एकअर्काप्रति आरोपप्रत्यारोपमा उत्रिरहेका छन् । उनीहरु आआफ्नो पक्षलाई आधिकारिक दाबी गर्दै निर्वाचन आयोगसम्म पुगेका थिए । अन्त्यमा आयोगले नेकपा नफुटेको बताएको थियो ।
आयोगको उक्त निर्णयसगैँ कानुनी रुपमा नेकपा विभाजित नभएकाले संसद सचिवालयले कुर्सीको व्यवस्थापन गर्दा नेकपाका सांसदहरु सत्तापक्षकै लाइनमा बस्ने गरी मिलाइएको हो ।








































