छहरे, शनिबार, १५ फागुन २०७७ । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले पार्टीभित्र व्यक्तिवादी चरित्र हाबी हुँदा कांग्रेस पार्टी कमजोर भएको बताएका छन् ।
गृहजिल्ला नुवाकोटको लिखु गाउँपालिकाको छहरे बजारमा ‘प्रथम ऐतिहाँसिक छहरे महोत्सव एवम् व्यापार मेला २०७७’को शुक्रबार उद्घाटन गर्दै डा.महतले पञ्चायतकालीन अवस्थामा जस्तो नुवाकोट कांग्रेसभित्र पार्टीलाई कमजोर बनाएर व्यक्तिहरू बलियो बन्ने हर्कत गरेको भन्दै सुध्रिन चेतावनी दिएका छन् । उनले कांग्रेसलाई कमजोर बनाउने नुवाकोट कांग्रेसका पूर्वपञ्च र मण्डलेहरूलाई नै घाटा हुने चेतावनी दिए ।
‘नेपाली कांग्रेस नुवाकोटका नेता कार्यकर्ताहरू हामी व्यक्तिवादी हुन छाड्नु पर्यो । आफूलाई केन्द्रविन्दुमा राख्ने । आफू भए ठीक, आफ्नै पार्टीको अर्को सदस्यको खिलाफ गर्ने, निषेध गर्ने त्यो प्रवृत्तिले कांग्रेस बलियो हुँदैन ।’
उनले भने, ‘त्यो अवस्थामा कम्युनिस्टले खेल्छ । कांग्रेसले उम्मेदवार तय गर्छ भने त्यसमा सम्पूर्ण पार्टी लाग्छ । किन भने आज हामी पार्टी व्यवस्थामा छौँ ।’
सह–महामन्त्री डा.महतले भनेका छन्, ‘हामी पञ्चायती व्यवस्थामा छैनौँ । जुन बेलामा व्यक्ति–व्यक्तिको बीचमा सीमित चुनाव हुन्थ्यो । व्यक्तिले आफ्नो पक्षमा जति मान्छे जोड्न सक्यो, उ बलियो हुन्थ्यो र जित्थ्यो ।’
‘तपाईहरूलाई थाहा छ त्यस बेला को–को नेता थिए भनेर ? मैल नाम लिइरनुपर्छ ? पर्दैन’, चेतावनी दिँदै डा.महतले भने, ‘अहिले पार्टी व्यवस्थामा छौँ । पार्टी व्यवस्थामा विचार केन्द्रविन्दुमा हुन्छ । सिद्धान्त केन्द्रविन्दुमा हुन्छ । मान्छे केन्द्रविन्दुमा हुँदैन । व्यक्ति केन्द्रविन्दुमा हुँदैन । त्यस कारण पार्टीलाई केन्द्रविन्दुमा राखौँ ।’
‘हामी सबैले सबैलाई सम्मान गरौँ । सबैले सबैको हैसियतअनुसार उनीहरूलाई सम्मान गरौँ । आ–आफ्नो हैसियतअनुसार काम गरौँ’, उनले भने, ‘त्यो भयो भने नेपाली कांग्रेसलाई नुवाकोटमा कसैले चुनौँती दिन सक्दैन ।’
‘हामीलाई हिजोका दिनमा कसैले चुनौती निद सके भने, हामी एकअर्कालाई खोइरो खन्ने क्रममा हामी त्यसमा सक्रिय हुने, जो हाम्रो विरोधी हो जो प्रतिस्पर्धी हो, जो अर्को दल हो, त्यो कुरालाई बिर्सिदा समस्याहरू आएको छ । यो कुरालाई हामीले आत्मसात गर्नुपर्छ’, डा.महतले भने, ‘ज–जसले आत्मसाथ गरेका छैनन् उनीहरूलाई आजैदेखि आत्मसाथ गर्न अनुरोध गर्छु । यो नगर्ने हो भने पार्टीलाई घाटा छ । ती व्यक्तिहरूलाई पनि घाटा छ । यो स्पट कुरा हो ।’








































