काठमाडौँ, शनिबार, १५ फागुन २०७७ । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले आफूलाई महाराजधिराज नै ठानेको टिप्पणी गरेका छन् ।
शनिबार ललितपुरको जाउलाखेलमा आयोजित नेकपा सम्बद्ध शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू नेतृत्वमा पुग्नका लागि प्रधानमन्त्री ओलीले जस्तो सुकै सम्झौता गर्ने तर कार्यान्वयन कहिले नि नमान्ने गरेको बताएका हुन् । ओली अब अर्को वर्गमा पतन भएको उनको भनाई छ ।
यस्तै, प्रचण्डले तत्कालीन एमाले र माओवादीबीचको एकताको सुरुका दुई वर्ष ओलीले सबैभन्दा बढी माधव नेपाललाई गाली गरेको र बिस्तारै आफू पनि पीडित भएको बताएका छन् । ‘एकताका दुई वर्ष सबैभन्दा बढी माधवजीलाई गाली गर्नुहुन्थ्यो, पछि उहाँबाट म पनि पीडित भए र हामी एकठाउँमा भयौँ’ उनले भने ।
उनले अर्का अध्यक्ष नेपाललाई ओलीले चार जिल्लामा मात्र सीमित गर्न खोजेको पनि खुलासा गरेका छन् । ‘माधव समूहलाई चार जिल्लामा सीमित पार्ने र त्यसपछि प्रचण्डलाई पनि ‘कच्याककुचुक’ पार्न सकिहालिन्छ भन्ने केपी ओलीको योजना बुझ्न मलाई एक महिना पनि लागेन’, प्रचण्डले भने ।








































