काठमाडौँ, शुक्रबार, ७ फागुन २०७७ । राजसंस्था र हिन्दूराष्ट्र नेपाल पूनःस्थापनाको माग गर्दै राजावादीहरुले फागुन ८ गते माइतीघर मण्डलामा जनप्रदर्शन गर्ने भएको छ ।
बिहान ११ बजेबाट जनप्रदर्शन सुरु गरिने बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको छ । उक्त कार्यक्रममा शिवसेना नेपाल सह–अध्यक्ष दिनेश कँडेलले प्रेस वक्तव्यमार्फत उक्त जानकारी गराएका थिए ।
कँडेलले आफूहरुले अब संघीय लोकतान्त्रिक गणतन्त्र फालेर राजतन्त्र पूनःस्थापना गर्ने पनि घोषणा गरे । उनले भने, ‘यो संबिधानलाई फालेर ०४७ सालको संबिधान पूनःस्थापना गर्नुपर्छ । यो आन्दोलनले संघीय गणतन्त्रको जग हल्लाउने छ। त्यो आन्दोलनले धर्मयुद्धको खाका कोर्नेछ ।’
कार्यक्रममा बोल्दै हिन्दू अभियन्ता चिरण वीर प्रताप खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर नेपाली जनतामाथि ठूलो घात गरेको टिप्पणी गरे । उच्छृंखल राजनीतिले गर्दा आन्दोलनमा होम्मिन बाध्य भएको बताउँदै उनले माईतीघर मण्डलामा ११ बजे आउन अनुरोध गरे ।
यो देश राजाले बचाएको बताउँदै त्यसकारणले अब देशमा राजाको खाँचो भएकोमा जोड समेत दिए ।








































