काठमाडौँ, बुधबार, ५ फागुन २०७७ । सातामा निरन्तर बढ्ने क्रममा नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा आज झण्डै १० अंकको बृद्धी भएको छ ।
बुधबार (आज) नेप्से ९ दशमलव ९४ अंकले बढेर २६११ दशमलव ४५ बिन्दुमा पुगेर कारोबार रोकियो ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को कारोबार अत्याधिक भएपछि त्यसको प्रभाव नेप्से परिसूचकमा देखियो । आज निफ्राको सबैभन्दा धेरै ६९ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भएको छ। आज पनि निफ्राको सेयर मूल्य करिब १० प्रतिशले बढेर सकरात्मक सर्किट लाग्यो ।
पछिल्लो समय हरेक दिनजसो नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको सेयर बजारमा नेप्से बढ्ने क्रमले आज पनि निरन्तरता पाएको छ। नेप्सेले यो साता निरन्तर ‘अल टाइम हाई रेर्कड’ कायम राखेको छ। अधिकांश उपसूचक रातो हुँदा पनि बैंकिङ उपसूचक दोहोरो अंकले बढेसँगै नेप्से अंक बढेको हो ।
आज बैंकिङ समूहको शेयर झण्डै ३० अङ्कले, व्यापार समूहको ५९ अङ्कले, विकास बैंकको साढे तीन अङ्कले र अन्य समूहको शेयर १० अङ्कले बढेको छ । होटल, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, उत्पादन, जीवन बीमा र निर्जीवन बीमा समूहको शेयर भने घटेको छ ।
दुई सय तीन कम्पनीका एक करोड ७६ लाख कित्ता शेयर आठ अर्ब तीन करोड ५५ लाख रुपैयाँमा कारोबार भए । निफ्रा, कर्पोरेट विकास बैंक, हिमालय ऊर्जा विकास कम्पनी र समृद्धि फाइनान्सका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । सनराइज फस्र्ट म्युचल फण्डका लगानीकर्ताले चार प्रतिशतभन्दा धेरै गुमाएका छन् ।








































