काठमाडौँ, सोमबार, ३ फागुन २०७७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले चुनावी कार्यतालिका नल्याएकोले आशंका पैदा भएको बताएका छन् । अदालतले भन्दा पनि निर्वाचन आयोगले बदमासी गर्न सक्ने देउवाको भनाइ छ ।
‘निर्वाचन आयोगले किन अहिलेसम्म निर्वाचन कार्यक्रम बाहिर निकाल्दैन ? चुनाव नगराउने हो भने भन्नुपर्यो चुनाव गराउँदिनँ भनेर । चुनाव गराउने हो भने निर्वाचनको प्रक्रिया सुरू गरेकै छैन । कुनै पनि संसदको विघटन भएको छ महिनाभित्र चुनाव गरिसक्नुपर्छ,’ भैरहवामा आज भएको सभामा देउवाले भने ।
उनले जेठभित्र आयोगले चुनाव गराउनुपर्ने बताए । ‘जेठ अन्तिमसम्म ओलीले चुनाव गराउनुपर्छ। निर्वाचन आयोगको पनि त्यही काम हो । आयोग संविधान बाहिर जान सक्छ? उसलाई मतलब नै छैन । निर्वाचन आयोगलाई म यहीबाट भन्न चाहन्छु- प्रधानमन्त्री ओलीले संसद विघटन गरेको छ महिनाभित्र चुनाव गराइसक्नुपर्छ,’ उनले भने ।








































