काठमाडौँ, सोमबार, ३ फागुन २०७७ । नेपाली कांग्रेसले आज देशैभर विरोध प्रदर्शन गर्दैछ ।
प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले तेस्रो चरणको विरोध कार्यक्रमअन्तर्गत सोमबार मुलुकका ७७ वटै जिल्ला प्रदर्शन गर्न लागेको हो । प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
सभामा सहभागी हुन सभापति शेरबहादुर देउवा बुटवल जाँदै छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल धादिङ जाँदैछन् भने उपसभापति विमलेन्द्र निधी सप्तरी, महामन्त्री डा. शशांक कोइरालाले दाङको विरोध सभालाई सम्बोधन गर्नेछन् ।
प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुरको नेतृत्व गर्नेछन् भने गगन थापाले चितवनको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
पहिलो चरणअन्तर्गत कांग्रेसले १३ पुसमा १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । दोस्रो चरण अन्तर्गत २५ पुसमा ३३० प्रदेश सभा निर्वाचन क्षेत्र, ३ माघमा ७५३ स्थानीय तहका पालिकामा तथा ८ माघमा देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गरेको थियो ।








































