काठमाडौं, बुधबार, २८ माघ २०७७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेस आन्दोलनको नेतृत्व गर्न तयार रहेको बताएका छन् ।
आज बुधवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहको नेकपाले काठमाडौंमा गरेको विरोध सभाका क्रममा प्रचण्ड, नेपालसहितका नेताहरूबाट कांग्रेसलाई संयुक्त आन्दोलनको खुला प्रस्ताव आएपछि नेता पौडेलले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्दोलनको नेतृत्व गर्न तयार रहेको बताउनु भएको हो ।
‘संविधानको रक्षाका लागि २०४६ र २०६२/०६३ मा पनि कांग्रेसले नेतृत्व लियो, फेरी पनि संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको नेतृत्व गर्न कांग्रेस तयार छ,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भन्नुभयो ।
उहाँले संयुक्त आन्दोलनका लागि कांग्रेस तयार नभएको नभई समय मात्रै कुरेको पनि बताउदै ‘संयुक्त आन्दोलनका लागि अहिले अलिकति बेला भएको छैन भनेको हो, कांग्रेस आन्दोलनका लागि तयार नभएको होइन, कुन कम्युनिष्ट कता लाग्छन् कांग्रेसलाई त्यता चासो छैन, कांग्रेसलाई संविधान र लोकतन्त्रको चासो र चिन्ता छ ।’ वरिष्ठ नेता पौडेलले भन्नुभयो ।
बुधवारको विरोध सभालाई सम्बोधन गर्नेक्रममा प्रचण्डले लोकतन्त्र ल्याउन, संविधान निर्माण गर्न र गणतन्त्र र संघियतामा मुलुकलाई अघि बढाउन नेतृत्व दिएको पार्टी कांग्रेसलाई आफ्नै नेतृत्वमा बनेको संविधानको हत्या हुँदा हेरेर नबस्न आग्रह गरेका थिए ।
‘गिरिजा बाबुले नेतृत्व गर्नु भएको कांग्रेसकै नेतृत्वमा लोकतन्त्र आयो, संविधान सभामा शुशिल कोइरालाले नेतृत्व लिनु भयो संविधान आयो, गणतन्त्र र संघीयता पनि कांग्रेसकै नेतृत्वमा आयो, त्यसबेला कांग्रेसका सभापति शेरबहादुर जी पनि कहीं न कही हुनुहुन्थ्यो, अहिले संविधानको हत्या हुँदा भ्रममा परेर कांग्रेस बस्न मिल्छ ?, कांग्रेसलाई यो अवसर हो, हामी हातेमालो गर्न तयार छौं,’ कांग्रेसलाई संयुक्त आन्दोलनको प्रस्ताव गर्दै प्रचण्डले भनेका थिए ।
विरोध सभालाई सम्बोधन गर्ने क्रममा नेकपा अध्यक्ष नेपालसहित, नेताहरू झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले समेत कांग्रेसलाई संयुक्त आन्दोलनको प्रस्ताव गरेका थिए ।








































