काठमाडौँ, २८ माघ २०७७ । प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंमा बृहत विरोध सभा आयोजना गर्दैछ ।
सो पक्षले भृकुटीमण्डपमा मध्याह्न हुने विरोध सभामा सम्बोधन गर्ने वक्ताहरु तय गरेको छ । वक्ताहरुमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, रघुजी पन्त, देव गुरुङ, जनार्दन शर्मा रहेका छन्। त्यसैगरी रामचन्द्र झा, सन्तकुमार चौधरी, रामकुमारी झाक्री, महफुज अन्सारी, भानुभक्त जोशी, अमृता थापा र अञ्जना विशंखेले पनि सो सभामा सम्बोधन गर्नेछन् ।
सो पक्षले काठमाडौँका पुल्चोक, माइतीघरमण्डला, केशरमहल, त्रिपुरेश्वर र जमललाई केन्द्र बनाई जुलुस निकालेको छ। मुल जुलुस भने सुनधाराबाट सुरु हुनेछ । त्यसपछि भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ ।








































