चौतारा, बुधबार, २८ माघ २०७७ । मितेरी पुलको मर्मतका लागि बन्द गरिएको तातोपानी नाका तीन सातापछि खुलेको छ । नाका खुलेसँगै मंगलबार ६ कन्टेनर चिनियाँ सामाग्री नेपाल भित्रिएका छन् ।
कोरोना संक्रमण सन्त्रास, नाका प्रति स्थानीयको फरक बुझाईलगायतका कारण पटक पटक बन्द भएको नाका पछिल्लो पटक मितेरी पुल मर्मतको लागि बन्द रहेको २१ दिनपछि मंगलबारबाट पुनः सुचारू भएको हो।
चिनियाँ पक्षले नेपाल चीन सीमा मितेरी पुल मर्मतमा लागि २० दिनका लागि बन्द गरेको थियो । नाकाबाट मंगलबार छ कन्टेनर सामान नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।
चालू आर्थिक वर्षमा नेपाल चीनबीचको मुख्य नाका तातोपानी भन्सार कार्यालयले चालीस करोड राजस्व संकलन गरेको छ । पाैने तीन अर्व राजस्व संकलनको लक्ष्य राखेको भन्सारले नियमित सामान आयातमा भएका समस्याकै कारण लक्ष्य अनुरुप राजस्व संकलन हुन नसकेको जनाएको छ ।
भन्सारले कृषिजन्य र अन्य व्यापारिक सामाग्री आयात हुँदै आएको नाकाबाट थप पाँच करोड राजस्व संकलन गरेको जनाएको छ । ‘आज छ कन्टेनर सामान भित्रिएको छ’– भन्सार प्रमुख लालबहादुर खत्रीले भन्नुभयो । वर्षादको समयमा बाढी पहिरोबाट क्षतिग्रस्त सडक सञ्चालनमा भएको ढिलाईले यस वर्षको राजस्व संकलनमा अपेक्षित नतिजा आउन नसकेको कार्यालयले जनाएको छ ।
बाढी पहिरो बाट क्षतिग्रस्त नाकाबाट गत कार्तिक महिनामा दुई करोड राजस्व संकलन भएकोमा पुस महिनामा मात्र २२ करोड राजस्व संकलन गरेको छ ।
कमजोर सडक, पनि आयात भई सुख्खा बन्दरगाहमा रहेका सामाग्रीको भन्सार जाँचपासको काम निरन्तर भैरहेको भन्सार कार्यालयले जनाएको छ । कार्यालयले ४५ प्रतिशत सामाग्रीको भन्सार प्रक्रिया तोकिएकै दिन सम्पन्न गर्ने गरेको जनाएको छ ।








































