काठमाडौं, मंगलबार, २७ माघ २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई निर्वाचनको तयारी अगाडि बढाउन आग्रह गरेका छन् ।
मंगलबार बिहान आयोग पुगेका प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारीसँग १ घण्टा छलफल गरेका छन् । छलफलका क्रममा प्रधानमन्त्री ओलीले बाहिरी पक्षको कुरालाई वेवास्ता गर्दै निर्वाचन प्रक्रिया अगाडि बढाउन आयोगलाई आग्रह गरेका हुन् । जवाफमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले पनि निर्वाचनको तयारीलाई निरन्तर अगाडि बढाइरहेको छलफलमा सहभागि एक नेताले जानकारी दिए ।
पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ गते नयाँ निर्वाचनको घोषणा गरेका थिए।
सरकारले दुई चरणमा निर्वाचन गर्नका लागि प्रदेश र जिल्लाको टुंगो लगाएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले आगामी वैशाख १७ गते मुलुकका ४० जिल्ला र २७ गते बाँकी ३७ जिल्लामा आमनिर्वाचन गर्ने निर्णय गरेको हो । जसअनुसार वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्ला र वैशाख २७ गते प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेश अन्तर्गत ३७ जिल्लामा निर्वाचन हुनेछ ।








































