काठमाडौं, सोमबार, २६ माघ २०७७ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताएका छन् ।
पूर्वप्रधानमन्त्री सुशील कोइरालाको छैटौं स्मृति दिवसका अवसरमा सोमबार सुशील कोइराला सोसलिस्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको संकटमा संविधान विषयक विचार गोष्ठीमा कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताएका हुन् ।
कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु नहुने उनको तर्क छ । संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुने पनि उनले बताए । महामन्त्री कोइरालाले आफ्नो कार्यकर्ताहरुलाई समेटेर एकजुट बनाएर लिएर जान सके कांग्रेसको भविष्य उज्ज्वल रहेको उनले बताए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले संविधानको रक्षा गर्नु अहिलेको मूल दायित्व भएको बताए । उनले संविधान, लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्नुपर्ने पनि बताए । अहिले संघीयता र धर्मनिरपेक्षताबारे प्रश्न उठाएर संविधानलाई कमजोर बनाउनु नहुने उनको भनाइ छ । नेता पन्तले वैशाखमा निर्वाचन नहुने भन्दै संविधानको रक्षाका निम्ति सबै राजनीतिक दल मिलेर आन्दोलनमा जानुपर्ने धारणा राखे ।
कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले अहिलेको समस्याको मुख्य जड प्रधानमन्त्री ओलीको मानसिकता रहेको बताए । ओलीलाई जनताले संसद्, संविधान र कानुनको अधिनमा बसेर शासन गर्न चुनाव जिताएर पठाए पनि कानुन, संविधान, अदालत केही नमान्ने प्रवृत्ति रहेको रिजालले बताए ।
नेता रिजालले संसद् विघटनअघि एकै ठाउँमा बसेका मान्छेहरु अहिले विभक्त भएको भन्दै कुनै एकको पक्षमा नेपाली कांग्रेस नलाग्ने पनि स्पष्ट पारे ।








































