काठमाडौं, सोमबार, १९ माघ २०७७ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सुनुवाइसम्बन्धी पत्र फिर्ता पठाएकोप्रति विरोध जनाएका छन् ।
अध्यक्ष तिमिल्सिनाले सोमबार पत्रकार सम्मेलन गर्दै अदालतले आदेश दिएको खण्डमा बाहेक संवैधानिक परिषदले गरेको सिफारिस सभामुखले फिर्ता गर्न नमिल्ने बताए ।
आइतबार सभामुख सापकोटाले संवैधानिक परिषदले गरेको सिफारिस फिर्ता गरेका थिए।
अध्यक्ष तिमिल्सिनाले दुवै सदनको प्रतिनिधित्व रहने संसदीय सुनुवाइ समितिका संयुक्त समितिहरु सञ्चालनको अधिकार संघीय संसदको कुनै एक सदन वा पदाधिकारीमा निहित नरहेको बताएका छन्।
‘पत्रमा उल्लिखित संघीय संसद तथा सो अन्तर्गतका समितिहरुको व्यवस्थापन, सञ्चालनसमेत व्यवस्था गर्ने अधिकार सभामुखमा निहित भएको भन्ने व्यहोराले दुई सदनात्मक संघीय व्यवस्थापिकासम्बन्धी संवैधानिक व्यवस्था, स्थापित अभ्यास, माथिल्लो सदन राष्ट्रिय सभाको भूमिका र गरिमामा प्रहार भएको छ,’ तिमिल्सिनाद्वारा जारी प्रेस नोटमा भनिएको छ ।
‘म समेत सहभागी भई निर्णय भएको संवैधानिक परिषदका सिफारिसहरू विधिसम्मत् ढंगले संसदीय सुनुवाइ समितिलाई उपलब्ध गराइएको हो,’ उनले भनेका छन्, ‘प्रतिनिधिसभा विघटनपूर्व संघीय संसदका महासचिव एवम् सुनुवाइ समितिका सचिवलाई सिफारिस पत्रहरू उपलब्ध भएको र प्रक्रियामा रहेको अवस्थामा हठात् सिफारिसहरू सभामुखको एकल निर्णयले फिर्ता पठाएकोमा गम्भीर आपत्ति प्रकट गर्दछु।’








































