काठमाडौं, शुक्रबार, १६ माघ २०७७ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जहिल्यै आफ्ना छोराछोरीलाई मात्रै हेऱ्यो भनेर अपमानित गरेको बताएका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘प्रचण्डले छोराछोरी र ज्वाइँलाई मात्रै काम दिन्छन्, भन्छन् त ओलीले, के यो सही हो ?,छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा संलग्न गराउनु मेरो गल्ती हो ? मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका, बेलायत पठाइँन त्यो मेरो दोष हो ? मैले आफैसँग जंगलमा बन्दुक बोक्न लिएर हिँडे त्यो मेरो दोष हो ? मैले आफ्ना छोराछोरीलाई विशेष अधिकार खोजिनँ। जतिबेला गणतन्त्रको लडाइँ लड्दै थियौँ मेरा छोरीहरु रोल्पाको जंगलमा बन्दुक लिएर हिँड्थे, त्यो मेरो दोष हो ?’
तर, आफूले केपी ओलीले जसरी भ्रष्टाचारको पक्षपोषण नगरेको बताए । ‘केपी ओलीले जसरी धर्म छोराछोरी पालेर भ्रष्टाचारको पक्षपोषण गरिनँ।’, प्रचण्डले भने, ‘७० करोड खानेहरूलाई उसले खाएकै होइन भन्दै जोगाउने को हो ? देश कोरोनाको महामारीमा परेका बेला त्यसको औषधिमासमेत भ्रष्टाचार गर्नेलाई संरक्षण गर्ने हो हो ?’
अर्को प्रसंगमा प्रचण्डले आफूहरुले समाजको उत्थानको कुरा उठाएको उल्लेख गरे । ‘हामीले सुशासन र समृद्धिको सपना देखेकै हो, उत्पीडित समुदायको उत्थानको कुरा गरेकै हो । किसानको पेन्सनको कुरा गरेकै हो ।’ प्रचण्डले भने ।








































