काठमाडौं, १३ माघ २०७७ । प्रतिनिधि सभा विघटन विरुद्ध आन्दोलन गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर जनता समाजवादी पार्टी विवाद चर्किएको छ । पार्टी एकता भएको १० महिनासम्म पनि नेता कार्यकर्ताहरुको व्यवस्थापन गर्न नसकेकोले असन्तुष्टि बढिरहकै बेला भएको यो विवादले विस्तारै पार्टी विभाजनतर्फ उन्मुख भएको नेता, कार्यकर्ताहरुले बताउन थालेका छन् ।
तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच गत वैशाखमा एकीकरण भएर जनता समाजवादी पार्टी गठन गरिएको थियो । शुरुका केही महिना प्रमुख नेताहरुको व्यवस्थापन गर्न नसकेर अलमलमा परेको जनता समाजवादी पार्टीको गठन प्रकृया प्रति राजकिशोर यादव, अनिल झा लगायतका नेताहरु असन्तुष्ट रहंदै आ–आफ्नो गुट चलाइरहेका थिए ।
पछिल्लो समयमा अध्यक्ष महन्त ठाकुरसहित उपेन्द्र यादव, बाबुराम भट्राई र राजेन्द्र महतो लगायतका नेताहरुले नै आ–आफ्नो पूर्व पार्टीमा रहेका गुटहरु सक्रिय बनाएपछि जनता समाजवादी पार्टी पनि सत्तारुढ नेकपा जस्तै एकिकरण नसकिदै विभाजन हुने संभावना बढेको हो । त्यसको लागि निहुं बनाइदिएको छ–प्रतिनिधि सभा विघटनको मुद्धाले ।
स्रोतका अनुसार जनता समाजवादी पार्टी बन्नु अघि संघिय समाजवादीमा रहेका उपेन्द्र यादव र बाबुराम भट्राईहरु नेपाली प्रचण्ड–माधव नेपाल पक्षसंग मिलेर प्रधानमन्त्री केपी ओली विरुद्ध आन्दोलन चर्काउने पक्षमा छन् । त्यसको लागि नेपाली कांग्रेससंग पनि सहमती गर्नको लागि भट्राई, यादवले प्रयास गरिरहेका छन् ।
अर्काेतर्फ यता महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरु भने पार्टीले आन्दोलनलाई भन्दा चुनावलाई महत्व दिन थालेपछि उक्त पार्टी भित्रको विवाद छताछुल्ल हुन पुगेको हो । जनता समाजवादी पार्टीको वरिष्ठ नेता रहेका महतोले पार्टी विभाजन गर्न प्रधानमन्त्री केपी ओलीले लिएको ‘मन्त्र’लाई जप्न थालेको आरोप पार्टी भित्रबाट लाग्न थालेको हो । नेकपा विभाजन अघि प्रधानमन्त्री ओलीले पार्टीका गतिविधिहरु भन्दा पनि मदन भण्डारी फाउण्डेशनका गतिविधिहरुलाई जोड दिएका थिए । ओली लगायतका उनी पक्षका नेताहरुकै संलग्नतामा फाउण्डेशनले देशभरि नै संगठन विस्तार गरेको थियो ।
ओलीको सिको गर्दै महतोले हालै गजेन्द्रनारायण सिंह अध्ययन केन्द्र गठन गरेका छन् । अनामनगरमा केन्द्रिय कार्यालय राखिएको सो केन्द्रमा महतो निकटका पार्टी केन्द्रीय सदस्य अनिल महासेठ संयोजक रहेका छन् ।
हालसम्म सो केन्द्रले तराई–मधेसका १७ वटा जिल्लामा आफ्नो सङ्गठन विस्तार गरिसकेको छ र देशैभरि त्यसका संगठन विस्तार गर्न थालिएको छ ।
स्रोतका अनुसार सक्रिय हुने वरिष्ठ नेता महतो अचेल पार्टी कार्यालयमा भन्दा पनि केन्द्रको सोही कार्यालयमा बसेर आफ्नो काम गर्ने गर्छन् । आफूलाई भेटन जाने नेता कार्यकर्ताहरुसंग महतोले कुनै पनि बेला पार्टी विभाजन हुने भएकोले नयां ढंगले काम गर्न तम्तयार भएर बस्न निर्देशन पनि दिने गरेका छन् ।








































