काठमाडौं, आइतबार, ४ माघ २०७७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दालहाल प्रचण्ड-माधव नेपाल पक्षका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले संविधानमाथि प्रहार गरेकोले आक्रामक हुनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओलीजीले ठूलो षड्यन्त्र गरेका छन् । संविधानमाथि प्रहार भएको छ । हामी आक्रामक हुनुपर्ने देखिएको छ ।असंवैधानिक रुपमा संसद विघटन गरिएपछि हामी पक्कै पनि गम्भीर स्थितिमा छौँ । हाम्रो आन्दोलन पनि आवेग र आक्रोशका साथ अलिकति जुझारु हुन जरुरी छ ।’
प्रधानमन्त्री ओलीमा रहेको प्रवृत्ति आफूहरूमा पनि केही देखिएजस्तो रहेकोले अपरेशन गर्नुपर्ने अवस्था रहेको बताए । ‘तपाईंको रोग हामीभित्र पनि सर्न लागेको हो कि भन्ने डर छ। मेजर अपरेशन गर्न पर्ने देखिएको छ । गलत मान्छेसँग बस्दा हामीलाई पनि अलिकति संक्रमण भएको छ। केपी प्रवृत्तिको अपरेशन गर्नुपर्ने छ’ उनले भने ।








































